काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा २०८३ साल भदौ २४ गते ( सेप्टेम्बर २०२६) बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सभामा माछापुच्छ्रे क्यापिटल लिमिटेडको निरन्तर प्रगति, आगामी व्यावसायिक सम्भावना तथा कम्पनीलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा चर्चा गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षका प्रमुख उपलब्धि, व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी प्रस्तुत गरेका थिए।
साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२-०८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३-०८४ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत बराबर नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ। करसहित कुल २ करोड ४३ हजार ७६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।
सभाको समापनमा कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेले शेयरधनी, प्रमुख अतिथि, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंक लिमिटेडप्रति आभार व्यक्त गरेका थिए।
कम्पनीलाई आगामी दिनमा थप सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन सरोकारवालाको निरन्तर सहयोग, मार्गदर्शन र सहकार्यलाई प्राथमिकतामा राखिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्