काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक तथा सञ्चार पूर्वाधार प्रभावित बनेका बेला एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन र आपत्कालीन अवस्थामा समेत सञ्चार सम्पर्क अवरुद्ध हुन नदिन एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट ९ीभ्इ० स्याटलाइटमा आधारित उपकरणहरू महत्वपूर्ण स्थानमा जडान गरिरहेको जनाएको छ। एनसेलले सम्बन्धित सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका बाढी प्रभावित क्षेत्र, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य सञ्चालन भइरहेका स्थानमा यस्तो सेवा विस्तार गरिरहेको छ। हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा स्याटलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको र अन्य प्रभावित क्षेत्रमा जडान कार्य जारी रहेको कम्पनीले जनाएको छ।
सामान्य मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा पनि स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउन सकिने भएकाले विपद्का बेला यो प्रविधि प्रभावकारी हुने एनसेलको भनाइ छ।


स्याटलाइटबाट प्राप्त इन्टरनेट सिग्नल जमिनमा जडान गरिएको उपकरणले ग्रहण गर्छ। त्यसपछि सो उपकरणमार्फत वरपरका क्षेत्रमा वाईफाई सेवा उपलब्ध गराइन्छ। यसबाट मोबाइल नेटवर्क वा परम्परागत इन्टरनेट सेवा सञ्चालनमा नरहे पनि इन्टरनेटमा पहुँच कायम राख्न सकिन्छ। एनसेलका अनुसार स्याटलाइट प्रविधिले उच्च गति र कम लेटेन्सीको कनेक्टिभिटी उपलब्ध गराउने भएकाले प्रभावित नागरिक तथा उद्धारमा खटिएका टोलीले सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, आवश्यक सूचना प्राप्ति, ब्राउजिङ तथा राहत कार्यको समन्वयका लागि सेवा प्रयोग गर्न सक्नेछन्।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक पूर्वाधारसँगै सञ्चार सेवा समेत गम्भीर रूपमा प्रभावित बनेको अवस्थामा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए। ‘हामीले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटको तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ। यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,’ उनले भने। एनसेलले उक्त सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ। यसैबीच, बाढी आएको पहिलो दिनदेखि नै एनसेलले प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। साथै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ आर्थिक सहयोगसमेत गरेको छ।
विपद्का बेला सडक अवरुद्ध हुने, फाइबर तथा अन्य सञ्चार पूर्वाधारमा क्षति पुग्ने र सूचनाको पहुँच कठिन बन्ने अवस्थामा सञ्चार सेवा सामान्य सुविधाभन्दा पनि जीवनरक्षासँग जोडिएको ‘लाइफलाइन’ बन्ने एनसेलको भनाइ छ। स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा विस्तारले अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने प्रयाससँगै विपद्को समयमा तत्काल आवश्यक पर्ने कनेक्टिभिटीको वैकल्पिक व्यवस्था समेत सुनिश्चित गरेको कम्पनीको दाबी छ।















प्रतिक्रिया दिनुहोस्