काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन्।
कम्पनीहरूले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
नगद सहयोगसँगै कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा .३० लाख बराबरको करेन्ट चाउचाउसमेत राहत सामग्रीका रूपमा उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रका सम्बन्धित निकाय तथा पीडित नागरिकलाई उक्त चाउचाउ प्रत्यक्ष रूपमा वितरण गरिएको छ। आवश्यकताअनुसार थप राहत सामग्री उपलब्ध गराउने तयारीसमेत रहेको कम्पनीले जनाएको छ।
यससँगै यशोदा ग्रुपले विपद्को अवस्थामा प्रभावित नागरिकका लागि आवश्यक अन्य सहयोग गर्नसमेत आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
नगद र खाद्य सामग्री गरी यशोदा ग्रुपअन्तर्गतका कम्पनीहरूले बाढी प्रभावितका लागि कुल रु। ३ करोड ८१ लाख ५१ हजार बराबरको सहयोग उपलब्ध गराएका छन्।















प्रतिक्रिया दिनुहोस्