काठमाडौं । अमेरिकाले गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
न्युयोर्कमा मंगलबार भएको भेटवार्ताका क्रममा अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिला हेर्ने उपसचिव एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा थप सहयोगको घोषणा गरेकी हुन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार थप सहयोगमध्ये १ करोड डलर स्थायी पुल निर्माणका लागि उपलब्ध गराउने योजना छ। बाढीबाट क्षतिग्रस्त यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय आवागमन सुधारका लागि आवश्यकताअनुसार निर्माण गरिने ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामका आवश्यकतामा ८० लाख डलर थप सहयोग गरिने भएको छ।
अमेरिकाले विपद्पछिको पुनर्स्थापना तथा आगामी विपद् व्यवस्थापनमा प्रयोग गर्न १ करोड ३० लाख डलर बराबरका अमेरिकी निर्मित ड्रोन उपलब्ध गराउने योजना पनि अघि सारेको छ। नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी पक्षले आवश्यकताअनुसार थप सहयोग पहिचान गर्दै नेपाल सरकारसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
नेपालको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री खनाल र उपसचिव हुकरबीचको भेट संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्युयोर्कमा भएको हो।















प्रतिक्रिया दिनुहोस्