काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गर्दै संघीय संसद्को अधिवेशन यथाशीघ्र बोलाउन सरकारसँग माग गर्ने भएको छ। पत्रकार पक्राउ, न्यायपालिकाको स्वायत्तता र प्रहरी नेतृत्वसँग जोडिएका विवादित विषयमा संसद्मा छलफल गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ ।
यस विषयमा अन्य विपक्षी दलहरूसँग समेत छलफल गरेर सरकारमाथि दबाब सिर्जना गर्ने तयारी कांग्रेसको छ । यसका लागि सोमबार दिउँसो विपक्षी दलहरूको बैठक बस्ने तय भएको बताइएको छ । पछिल्लो समय समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठेको कांग्रेसको भनाइ छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र बिचौलिया इनम सापकोटाबिचको अस्वाभाविक रकम डिलबारे आएको समाचार तथा प्रधानन्यायाधीश समेत जोडिएको विषय र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउन लागिएको भन्ने समाचारको स्रोत खोज्ने क्रममा प्रहरीले पत्रकारमाथि शुक्रबार धरपकड गरेको थियो ।
नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराल पक्राउ परेका थिए । सो क्रममा अन्य पत्रकारको समेत कार्यालयभित्रै सादा पोशाकका प्रहरी पुगेर खोजी र मोबाइल जाँच गरिएको थियो । चौतर्फी विरोधपछि पक्राउ परेका पत्रकारहरू सोही दिन साँझ रिहा भएका थिए । यसैबीच, कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले पत्रकार धरपकडलगायत सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।
उनका अनुसार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको दबाब र विधिको शासनविपरीत हो । कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार, शक्ति पृथकीकरण र संवैधानिक संस्थाको स्वायत्ततामाथि हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ । अघिल्लो संसद् अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो ।















प्रतिक्रिया दिनुहोस्