Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

धितोपत्र बोर्डको सूचना प्रविधि नीति लागू, साइबर सुरक्षा र विपद् व्यवस्थापनमा कडाइ

धितोपत्र बोर्डको सूचना प्रविधि नीति लागू, साइबर सुरक्षा र विपद् व्यवस्थापनमा कडाइ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित तथा व्यवस्थित प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले गत कात्तिक १८ गतेदेखि लागू गरेको उक्त नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन, सञ्चालन र लगानी प्रक्रियालाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।

नीतिमा सूचना प्रविधिसम्बन्धी सुरक्षा मापदण्डलाई बजारसँग सम्बन्धित निकायको कार्यप्रकृति र जिम्मेवारीअनुसार तीन तहमा वर्गीकरण गरिएको छ । पहिलो तहमा नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक तथा केन्द्रीय निक्षेप सेवा प्रदायक, दोस्रो तहमा धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी तथा मर्चेन्ट बैंकर र तेस्रो तहमा क्रेडिट रेटिङ एजेन्सी तथा सेयर रजिस्ट्रारलाई राखिएको छ ।

बोर्डका अनुसार नीतिले सूचना प्रविधिको स्तरीय प्रयोगमार्फत बजार नियमन र सञ्चालनलाई थप गतिशील बनाउँदै डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ । साथै, रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय प्रविधि (फिनटेक) लगायतका नवीनतम प्रविधिको प्रयोगलाई सहजीकरण तथा प्रोत्साहन गर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ ।

नीतिले बजार कारोबार, राफसाफ तथा फर्छ्यौट प्रणाली र केन्द्रीय निक्षेप प्रणालीलाई सुरक्षित तथा भरपर्दो बनाउन अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विपद् पुनःप्राप्ति संयन्त्र (डीआरएम) स्थापना तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, बजारका महत्वपूर्ण पूर्वाधार तथा व्यवसायीले व्यवसाय निरन्तरता योजना (बीसीपी) र विपद् पुनरुत्थान योजना ९डीआरपी० अनिवार्य रूपमा तयार गर्नुपर्नेछ ।

यस्ता योजनाको प्रभावकारिता सुनिश्चित गर्न वार्षिक रूपमा परीक्षण (ड्रिल तथा सिमुलेसन) गर्नुपर्ने र त्यससम्बन्धी प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था पनि नीतिमा गरिएको छ ।

यसैगरी, सूचना प्रविधिसम्बन्धी उपकरण तथा सेवा खरिद गर्दा सेवा प्रदायकको उचित मूल्यांकन (भेन्डर ड्यु डिलिजेन्स) र जोखिम व्यवस्थापन अनिवार्य गरिएको छ । सूचना प्रविधि बाह्यकरण गर्दा सेवा स्तर सम्झौता (एसएलए), तथ्यांक सुरक्षाको दायित्व, नियामक निकायको अडिट अधिकार तथा सेवा प्रदायकबाट बाहिरिने रणनीतिलगायतका विषय स्पष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साइबर सुरक्षालाई थप मजबुत बनाउन बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन केन्द्र (एसओसी) स्थापना गर्नुपर्ने वा मान्यताप्राप्त व्यवस्थापित सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टा साइबर जोखिम तथा खतरा निगरानीको व्यवस्था मिलाउनुपर्नेछ ।

बोर्डले यस नीतिमार्फत सुपरिवेक्षकीय प्रविधि ९सुपटेक० तथा नियामकीय प्रविधि (रेगटेक) को प्रयोग बढाई नियमन तथा सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।

यसबाट धितोपत्र तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको प्रयोग सुरक्षित, स्तरीय र विश्वसनीय हुनुका साथै समग्र पुँजी बजारको पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि हुने बोर्डको विश्वास छ ।

बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ नीतिले नेपालको पुँजी बजारमा प्रविधिको सुरक्षित उपयोग र नियामकीय क्षमता विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने उल्लेख गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit