एजेन्सी । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा कम्पनीको सञ्चालक समितिले छलफल अघि बढाएको छ।
एक महिलासँग प्रेम सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि कम्पनीको नेतृत्व र राष्ट्रिय सुरक्षा दुवैसँग जोडिएको विवाद चर्किएको हो। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नल ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार हुआङको भविष्यबारे निर्णय गर्न कम्पनीको बोर्ड बैठक बस्ने तयारी गरिएको थियो। रोयटर्सले पनि विषयसँग परिचित एक स्रोतलाई उद्धृत गर्दै बुधबार अबेर बोर्ड बैठक बसेको जनाएको छ। तर बिहीबार बिहानसम्म हुआङलाई हटाउने निर्णय भएको वा उनी पदबाट बाहिरिएको आधिकारिक घोषणा भएको छैन।
विवाद चर्किएसँगै बुधबार नियमित कारोबार समयपछि एनभिडियाको शेयर मूल्य करिब ८ प्रतिशत घटेको रोयटर्सले जनाएको छ। जेन्सेन हुआङको व्यक्तिगत सम्बन्धबारे सार्वजनिक भएका विवादास्पद समाचारले कम्पनीको शेयर बजारमा ठूलो असर पारेको छ। पछिल्लो घटनाक्रमसँगै कम्पनीको बजार पुँजीकरणबाट ५०० अर्ब डलरभन्दा बढी रकम गुमेको छ। करिब चार खर्ब अमेरिकी डलरभन्दा बढीको बजार पुँजीकरण रहेको कम्पनीको नेतृत्व परिवर्तनले विश्वको कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगमै प्रभाव पार्न सक्ने आकलन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको बचाउ गरे पनि कम्पनीको शेयरमा आएको गिरावट रोकिएको थिएन।
विवादको सुरुआत सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेनको प्रेम सम्बन्धबाट भएको हो। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर अधिकारीहरूले एलिसलाई चीनको गुप्तचर निकायका लागि काम गर्ने व्यक्ति (जासुस)का रूपमा शंका गरेका छन्। मेगास्पिडले एनभिडियाका चिप खरिद गर्ने गरेको थियो। उक्त कम्पनीले अमेरिकी निर्यात प्रतिबन्ध छल्दै उन्नत एआई चिप चीन पठाउन सहयोग गरेको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। जेन्सेनले आइतबार कर्मचारीलाई पठाएको सन्देशमा आफूले पत्नीप्रति बेइमानी गरेको स्वीकार गर्दै पत्नी र छोराछोरीसँग माफी मागेका थिए। उनले सम्बन्धको विस्तृत विवरण भने खुलाएका थिएनन्। यता चीनले जासुसी गरेको सम्बन्धी अमेरिकी आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ।
यसैबीच, द न्यूयोर्क टाइम्सले बुधबार नै हुआङको आफ्नै मातहतमा काम गर्ने एनभिडियाकी स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहबाहिर सम्बन्ध रहेको अर्को विवरण सार्वजनिक गरेको छ। अखबारले कम्पनीका पाँच पूर्व तथा वर्तमान कर्मचारीलाई उद्धृत गर्दै उनीहरूबीच सम्बन्ध रहेको जनाएको छ। सान होजेमा आयोजित कम्पनीको सम्मेलनका क्रममा होटलमा दुवैलाई एकसाथ देखिएको भिडियो रहेको दाबी पनि गरिएको छ। तर अखबारले उक्त भिडियो आफैँले हेर्न नपाएको उल्लेख गरेको छ। यसबारे सोध्दा हुआङले पत्रकारलाई आफूलाई प्रत्यक्ष सम्पर्क नगर्न भनेपछि फोन काटेका थिए। एनभिडिया र पावेलले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। चिनियाँ जासुुस भनिएकी महिलासँगै अहिले फेरि अर्की महिलासँग समेत जेन्सेन सम्बन्ध रहेको दाबीसहित समाचार सार्वजनिक भएपछि लगानीकर्तामा थप चिन्ता देखिएको छ।
यी घटनापछि एनभिडियाको बोर्डले आइतबार स्वतन्त्र अनुसन्धान घोषणा गरेको थियो। अनुसन्धानको नेतृत्व गर्न बाह्य कानुनी फर्म नियुक्त गरिएको छ। बोर्डले यसअघि कम्पनीको राष्ट्रिय सुरक्षा वा गोप्य सूचना बाहिरिएको विश्वास गर्ने आधार भने नरहेको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हुआङप्रति समर्थन जनाएका छन्। सोमबार हुआङसँग फोनमा कुरा गरेको बताउँदै ट्रम्पले एलिस जासुस भएको आफूलाई जानकारी नभएको हुआङले बताएको र आफूले उनको कुरा विश्वास गरेको बताएका थिए। उनले एफबीआईले पनि यो विषय हेरिरहेको उल्लेख गर्दै हुआङ समस्याबाट बाहिर निस्कने विश्वास व्यक्त गरेका थिए। तर ह्वाइट हाउसले बोर्डको नेतृत्वसम्बन्धी निर्णयमा हस्तक्षेप नगरेको वासिङ्टन पोस्टले जनाएको छ। रोयटर्सका अनुसार हुआङलाई हटाइएमा तत्कालका लागि प्रमुख वित्तीय अधिकारी कोलेट क्रेस अन्तरिम सीईओ बन्न सक्ने सम्भावना छ। सहसंस्थापक क्रिस मालाचोस्की पनि सम्भावित विकल्प हुन्। तर, कम्पनीको स्थायी उत्तराधिकारीबारे स्पष्ट योजना सार्वजनिक भएको छैन।
सन् १९९३ मा स्थापना भएको एनभिडियालाई गेमिङ चिप निर्माता कम्पनीबाट एआई चिपको विश्वकै प्रमुख आपूर्तिकर्ता बनाउने श्रेय ६३ वर्षीय हुआङलाई नै जान्छ। कम्पनीमा उनको करिब ३.६ प्रतिशत स्वामित्व छ। आगामी नोभेम्बर १७ मा कम्पनीले त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेतृत्वको यो विवादले लगानीकर्ता र प्रविधि बजारको ध्यान भने खिचेको छ।















प्रतिक्रिया दिनुहोस्