काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा वित्तीय समाचार पोर्टल जिरोहाइजले हुआङलाई लक्षित गर्दै एक पोस्ट गरेको थियो। उक्त पोस्टमा प्रतिक्रिया दिँदै मस्कले लेखेका छन्,‘त्यसो गर्न पाउनु सम्मानको विषय हुनेछ।’ मस्कको उक्त प्रतिक्रिया आज सार्वजनिक भएको हो। एनभिडियाको सञ्चालक समितिले हुआङलाई सीईओबाट हटाउने वा नहटाउनेबारेमा छलफल गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला मस्कको यो अभिव्यक्ति आएको हो।
यसैबीच, एआई क्षेत्रमा लगानी गर्दै आएका गेविन बेकरले एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र छानबिनको नतिजा पर्खन आग्रह गरेका छन्। बेकरले ठूला शेयरधनी र व्यावसायिक साझेदारहरूले पनि छानबिनको नतिजा नआएसम्म हुआङलाई पदबाट नहटाउनुपर्ने धारणा राखिरहेको उल्लेख गरेका थिए। उनको उक्त पोस्टमा मस्कले ‘१००’ को इमोजी प्रतिक्रिया जनाउँदै समर्थन गरेका छन्।
एनभिडियाले यसअघि नोभेम्बर ८ मा जारी गरेको आधिकारिक वक्तव्यमा हुआङको अफेयरसँग सम्बन्धित पछिल्ला विवरणबारे स्वतन्त्र छानबिन सुरु गरिएको जनाएको थियो। कम्पनीको सञ्चालक समितिले स्वतन्त्र निर्देशकहरूको समितिमार्फत छानबिन अघि बढाउने बताउँदै हुआङ र उनको नेतृत्वप्रति विश्वास रहेको पनि स्पष्ट पारेको थियो। हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो। यसअघि सन् २०२५ को अक्टोबरमा अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँगको कुराकानीमा हुआङले मस्कका परियोजनामा थप लगानी नगरेकोमा पछुतो लागेको बताएका थिए।















प्रतिक्रिया दिनुहोस्