काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ सेवालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेको हो । यो सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।
नयाँ सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि कर्जा आवेदनको वर्तमान अवस्था, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रियाको प्रगति र पछिल्ला अपडेटहरू अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ ।
यसअघि कर्जाका लागि आवेदन दिएका ग्राहकले त्यसको प्रगति बुझ्न बैंकको शाखा कार्यालयमै पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो । तर, नयाँ सेवाको सुरुवातसँगै ग्राहकले बैंक धाइरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । अब ग्राहकले जुनसुकै समय र स्थानबाट आफ्नो कर्जा आवेदनको अवस्था आफैँ अनुगमन गर्न सक्ने भएकाले यसले कर्जा प्रक्रियामा पारदर्शिता र ग्राहकको सहजता बढाउने अपेक्षा बैंकको छ ।
डिजिटल प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउने प्रयासस्वरूप सुरु गरिएको यो सुविधाले कर्जा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।














प्रतिक्रिया दिनुहोस्