काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा तीनवटा नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।
बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फोन लोन’, ‘अहिले किन्ने, पछि भुक्तानी गर्ने (बीएनपीएल) क्रेडिट कार्ड’ र ‘अनलाइन कर्जा आवेदन पोर्टल’ को औपचारिक शुभारम्भ गरेका हुन् ।
वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले २०८३ कात्तिक ३० गते आफ्नो ९० औँ वार्षिकोत्सव मनाएको हो। समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले मुलुकको उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्यममा कर्जा लगानी विस्तार गरी उत्पादनमूलक अर्थतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे ।
साथै, संस्थागत सुशासन र वित्तीय अनुशासन कायम गर्दै जनविश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै डिजिटल रूपान्तरणसँगै साइबर सुरक्षा र तथ्याङ्क संरक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशिष्ट आतिथ्यता तथा बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा समारोह सम्पन्न भएको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्वागत मन्तव्य राख्दै बैंकको समग्र प्रगति तथा उपलब्धिबारे जानकारी गराए।
२९ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा
नेपाल बैंकले हाल देशभर २३० शाखा, २५० एटीएम र ५७ वटा विस्तारित सेवा केन्द्रमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।बैंकका अनुसार प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। हाल बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेका छन्। वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएका नयाँ सेवाले ग्राहकलाई कर्जा प्राप्ति तथा भुक्तानी प्रक्रियामा थप सहजता प्रदान गर्ने बैंकको अपेक्षा छ।
दीर्घसेवा गर्ने कर्मचारी र उत्कृष्ट शाखा सम्मानित
वार्षिकोत्सव समारोहमा बैंकमा निरन्तर २५ वर्ष सेवा गरेका तीन जना तथा २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक र प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ। त्यसैगरी, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ वटा शाखालाई पुरस्कृत गरिएको बैंकले जनाएको छ। प्राकृतिक विपत्तिका बाबजुद निरन्तर बैंकिङ सेवा सञ्चालन गरेको भन्दै त्रिशूली र धुन्चे शाखालाई विशेष सम्मान प्रदान गरिएको थियो। यस्तै, विषम परिस्थितिमा बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गरेको भन्दै स्याफ्रुबेंसी विस्तारित सेवा केन्द्र (धुन्चे शाखा) का कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको छ।
कार्यक्रमको समापन गर्दै समारोहका अध्यक्ष बद्री खनालले बैंकको संस्थागत लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई उच्च मनोबल, इमानदारी र प्रतिबद्धताका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्