काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।
‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता उजागर गरेको छ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गरेसँगै व्यावसायिक सञ्चालनमा वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। फोटोनका अनुसार टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन सञ्चालन खर्चमा बचत, वातावरणीय प्रभाव न्यूनीकरण र भरपर्दो कार्यक्षमताका दृष्टिले व्यावसायिक ढुवानीका लागि उपयुक्त विकल्प हो।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधन हस्तान्तरण हुनु व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो,’ उनले भने, ‘नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।’
त्यसैगरी, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए।
फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता पहलले अन्य व्यवसायलाई समेत विद्युतीय सवारीसाधनको प्रयोगतर्फ प्रोत्साहित गर्ने बताए।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुँदै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना बढ्दै गएको छ। विशेषगरी इन्धन तथा सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्ने उद्देश्यले व्यवसायीहरू विद्युतीय व्यावसायिक सवारीसाधनतर्फ आकर्षित हुन थालेका छन्।
भाटभटेनीलाई १४ वटा विद्युतीय सवारीसाधन हस्तान्तरणलाई फोटोन मोटर्स नेपालले व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसले नेपालका व्यवसायलाई आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई समेत थप बल पुर्याउने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्