काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यका पुराना तथा चलनचल्तीमा पठाउन अयोग्य बैंक नोट धुल्याएको छ।
केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा झुत्रा, मैला तथा च्यातिएका १६ करोड २ लाख ६१ हजार ३२४ थान नोट धुल्याइएको हो। बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले राष्ट्र बैंकमा जम्मा गर्न वा सटहीका लागि ल्याएका विभिन्न दरका नोट चलनचल्तीमा पठाउन अयोग्य भएपछि धुल्याइएको हो। राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म धुल्याइएका नोटको कुल मूल्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। यसमा अघिल्ला वर्षहरूमा धुल्याइएका नोटसमेत समावेश छन्।
यसैबीच, देशमा चलनचल्तीमा रहेका बैंक नोटको कुल मूल्य पनि बढेको छ। २०८२ असार मसान्तसम्म ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म आइपुग्दा ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता तथा उत्पादनमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक र परिमार्जन गर्दै आएको छ। यसबाट नेपाली नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ। राष्ट्र बैंकले चलनचल्तीमा रहेका नोटको गुणस्तर कायम राख्न सफा नोट नीतिको कार्यान्वयन तथा अयोग्य नोटको व्यवस्थापनलाई निरन्तरता दिँदै आएको उल्लेख गरेको छ।














प्रतिक्रिया दिनुहोस्