काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकमाथि संगठित रूपमा ठगी गरेको तथा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ।
सीआईबीले मंसिर २ गते जारी गरेको विज्ञप्तिअनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका छन्। उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
नेपाल र मलेसिया सरकारबीच भएको श्रमसम्बन्धी समझदारी (एमओयू) विपरीत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलिएको आरोप उनीहरूमाथि छ। उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८०.८० बेलायती पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको सीआईबीको आरोप छ।
श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरी विदेश पठाउने निर्णयमार्फत देशको अर्थतन्त्रमा नोक्सानी पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सीआईबीले काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्