काठमाडौं। नेपालको अग्रणी व्यावसायिक समूह आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट (समूह उपाध्यक्ष) पदमा नियुक्त गरेको छ ।
समूहका विभिन्न व्यवसायबीच रणनीतिक समन्वय, सहकार्य र व्यावसायिक प्रभावकारिता अभिवृद्धि गर्ने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो । नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसाय विस्तारको रणनीतिक नेतृत्व गर्नेछन् । समूहका प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउनुका साथै समग्र संस्थाको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्नु उनको प्रमुख जिम्मेवारी रहनेछ ।
उनको नेतृत्वमा समूहले नयाँ सेवा तथा व्यावसायिक साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा आफ्नो योगदान विस्तारलाई प्राथमिकता दिने जनाएको छ । विभिन्न व्यावसायिक क्षेत्रबीच प्रभावकारी सहकार्य स्थापित गर्दै उपलब्ध स्रोत तथा क्षमताको अधिकतम उपयोग गर्ने रणनीतिमा समेत खड्काको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग वित्तीय व्यवस्थापन, डिजिटल वित्तीय सेवा तथा व्यावसायिक नेतृत्वका क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले यसअघि नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० का रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । डिजिटल वित्तीय सेवा क्षेत्रको सञ्चालन तथा विस्तारमा हासिल गरेको उनको अनुभवलाई आईएमई ग्रुपले आफ्नो व्यावसायिक रणनीति कार्यान्वयनमा उपयोग गर्ने अपेक्षा गरेको छ ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई समूहमा स्वागत गर्दै उनको अनुभव र नेतृत्व क्षमताले समूहका विभिन्न कम्पनीलाई थप सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । ढकालले डिजिटल रूपान्तरणलाई थप विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको भूमिका प्रभावकारी हुने अपेक्षा पनि व्यक्त गरे । त्यस्तै, नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले समूहका व्यावसायिक प्राथमिकता हासिल गर्न तथा सरोकारवालाहरूसँगको सहकार्यलाई परिणाममुखी बनाउन आफू केन्द्रित रहने बताएका छन् । समूहभित्र रहेका विभिन्न व्यवसायको सामूहिक क्षमता परिचालन गर्दै नयाँ अवसरको पहिचान र प्रभावकारी कार्यान्वयनमा आफ्नो ध्यान रहने उनको भनाइ छ ।
रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायत विविध क्षेत्रमा लगानी विस्तार गर्दै आएको आईएमई ग्रुप नेपालको प्रमुख व्यावसायिक समूहका रूपमा स्थापित छ । विभिन्न क्षेत्रमा फैलिएको आफ्नो व्यावसायिक सञ्जाललाई थप एकीकृत गर्दै डिजिटल रूपान्तरण, नवप्रवर्तन र रणनीतिक साझेदारीमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने समूहको योजनामा खड्काको नियुक्तिलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्