काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक बिनबिन लि रहेका छन् । उनलाई बुधबार बिहान विमानस्थलको भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार उनी हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत दुबईबाट बिहान ११ः४१ बजे काठमाडौं आइपुगेका थिए। जाँचका क्रममा उनले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याएको अवस्थामा १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थ फेला परेको थियो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि पनि बुधबार नै विमानस्थलबाट अर्को एक चिनियाँ नागरिक ठूलो परिमाणको सुनजस्तो देखिने पदार्थसहित पक्राउ परेका थिए ।
मंगलबार मध्यराति १ः२५ बजे हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए४१० मार्फत काठमाडौं आएका ५८ वर्षीय जियानहुआ वाङको साथबाट १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ बरामद भएको थियो । प्रहरीका अनुसार उनले उक्त पदार्थ प्लास्टिकले बेरेर चारवटा गोलाकार पोका बनाई मलद्वारभित्र लुकाएर ल्याएका थिए । विमानस्थलको सुरक्षा जाँचका क्रममा शङ्कास्पद गतिविधि देखिएपछि गरिएको परीक्षणमा उक्त पदार्थ फेला परेको थियो ।
बुधबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूका साथबाट बरामद भएको सुनजस्तो देखिने पदार्थको कुल तौल ३ किलो ४०८.७७ ग्राम रहेको छ।















प्रतिक्रिया दिनुहोस्