काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक गरिएको छ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको हो। नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यसको मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर रहेको कम्पनीले जनाएको छ। नयाँ रङ थपिएसँगै यामाहा एक्सएसआर १५५ अब पाँचवटा रङमा उपलब्ध भएको छ। यसअघि कालो, नीलो, रातो र खरानी रङमा उपलब्ध यो मोटरसाइकल अब खरानी–हरियो मेटालिक रङमा समेत किन्न पाइनेछ।

नेपाल र जापानबीचको सात दशक लामो मित्रता र सहकार्यको उत्सवका रूपमा आयोजित महोत्सवमा नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो। कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल–जापान सम्बन्धको ऐतिहासिक महत्वबारे चर्चा गर्दै जापानले नेपालको प्रविधि, पूर्वाधार तथा विकासका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई स्मरण गर्दै यामाहालाई जापानी इन्जिनियरिङ, प्रविधि र नवप्रवर्तनको प्रतिनिधिका रूपमा प्रस्तुत गरे। एमएडब्लू ग्रुप नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तरका उत्पादन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एक्सएसआर १५५ ले परम्परागत विरासत र आधुनिक प्रविधिको संयोजन गरेको बताए।

महोत्सवमा प्रस्तुत जापानी कोटो सङ्गीत, ताइको ड्रमवादन, जापानी अक्षरकला, कस्प्ले र विभिन्न सांस्कृतिक कार्यक्रमले पनि दर्शकको ध्यान खिचेका थिए। जापानी कला र संस्कृतिको झल्को दिने यी प्रस्तुतिले मोटरसाइकल सार्वजनिक कार्यक्रमलाई थप विशेष बनाएको कम्पनीको भनाइ छ। रेट्रो शैलीको डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यामाहा एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) प्रविधिसहितको इन्जिन जडान गरिएको छ। यसमा डेल्टा बक्स फ्रेम, ६ गियरको ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल प्रणालीसमेत उपलब्ध छन्। यी विशेषताले मोटरसाइकलको कार्यक्षमता, स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ। नयाँ रङको आगमनसँगै एक्सएसआर १५५ रोज्ने ग्राहकले आफ्नो रुचि र शैलीअनुसार थप विकल्प पाउने भएका छन्।

एमएडब्लू राइड्स प्रालि नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक हो। कम्पनीले देशभर रहेका १०५ यामाहा बिक्री केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। बिक्री, मर्मतसम्भार र स्पेयर पार्ट्सको एकीकृत सेवा उपलब्ध गराउँदै आएको कम्पनीले सक्कली पार्टपुर्जा तथा बिक्रीपछिको सेवामा जोड दिँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्