Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उत्पादनमुखी नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : सूर्य कँडेल

उत्पादनमुखी नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : सूर्य कँडेल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेलले देशको आर्थिक विकासका लागि उत्पादनमुखी नीति, स्वदेशी वस्तुको उपभोग प्रवद्र्धन र प्रविधिमैत्री उद्योग विस्तार अपरिहार्य भएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा उनले नेपाल सम्भावनाले भरिएको देश भए पनि त्यसलाई उपयोग गर्न नसकिएको भन्दै युवाको ठूलो संख्या रोजगारीका लागि विदेशिन बाध्य भएको टिप्पणी गरे। उनले राजनीतिक परिवर्तन पटक–पटक भए पनि आर्थिक संरचनामा अपेक्षित सुधार आउन नसकेको उल्लेख गरे।

‘नेपाल हिमाल, पहाड र तराईको विविधतासहित अत्यधिक सम्भावना भएको देश हो। तर यही सम्भावनाबीच पनि हाम्रा युवाहरू हजारौँको संख्यामा विदेशिन बाध्य छन्,’ कँडेलले भने, ‘यो केवल आर्थिक होइन, नीतिगत असफलताको परिणाम पनि हो।’उनले देशमा विगतका विभिन्न राजनीतिक प्रणाली र आन्दोलनपछि पनि रोजगारी सिर्जना र औद्योगिक विकास अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए। पछिल्ला राजनीतिक घटनाक्रम र निर्वाचन परिणामले जनताको अपेक्षा र वास्तविक अवस्थाबीच ठूलो दूरी देखिएको उनको भनाइ थियो।

कडेलले घरेलु तथा साना उद्योग क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसकेको आरोप पनि लगाए। उद्योगको नाममा वार्षिक रूपमा ठूलो बजेट खर्च भए पनि त्यसको प्रभाव उत्पादन र रोजगारीमा नदेखिएको उनले टिप्पणी गरे।‘उद्योग मन्त्रालयमार्फत वर्षौँदेखि विभिन्न कार्यक्रम बनेका छन्, तर ती कागजमै सीमित छन्,’ उनले भने, ‘सहुलियत र नीति भनिए पनि वास्तविक उद्यमीले त्यसको लाभ पाउन सकेका छैनन्। ’उनले नेपालमा कच्चा पदार्थको प्रचुर सम्भावना भए पनि त्यसको उपयोग गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे। कृषिजन्य उत्पादन, जडीबुटी, वन सम्पदा, खाद्यान्नदेखि कपडा उद्योगसम्मका लागि आवश्यक कच्चा पदार्थ देशमै उपलब्ध भए पनि ती निर्यात गरेर पुनः प्रशोधित वस्तु आयात गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।

‘हामीसँग कच्चा पदार्थ छ, तर त्यसको मूल्यवद्र्धन देशभित्र हुन सकेको छैन,’ उनले भने, ‘बरु ती कच्चा पदार्थ विदेश पठाएर प्रशोधित वस्तु महँगो मूल्यमा आयात गर्न बाध्य छौँ। ’उनले सरकारी नीति अनुसार १५ प्रतिशत मूल्य महँगो भए पनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा लागू नभएको बताए। नीति बनाउने निकायले नै विदेशी वस्तुको उपभोग गर्ने प्रवृत्तिले स्वदेशी उद्योग कमजोर बनाएको उनको आरोप थियो। कडेलले बजारमा चिनियाँ र भारतीय उत्पादनको प्रभुत्व रहेको उल्लेख गर्दै स्वदेशी वस्तुको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनुमा नीति कार्यान्वयनको अभाव मुख्य कारण भएको बताए।

‘हामी उद्योग, उत्पादन र आत्मनिर्भरताको कुरा गर्छौं तर व्यवहारमा विदेशी वस्तु प्रयोग गर्छौं,’ उनले भने, “यो दोहोरो चरित्र अन्त्य नभएसम्म अर्थतन्त्र बलियो हुँदैन।’उनले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट नजिकिँदै गर्दा घरेलु तथा साना उद्योग क्षेत्रलाई व्यवहारिक र उत्पादनमुखी नीति आवश्यक रहेकोमा जोड दिए। विगतमा ल्याइएका बजेट तथा मौद्रिक नीतिहरूले अपेक्षित परिणाम दिन नसकेको भन्दै उनले नीति मात्र होइन, कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताए।

कडेलले प्रविधि र सूचना प्रविधिको युगसँगै उद्योग व्यवसायलाई डिजिटल र आधुनिक प्रणालीमा लैजानुपर्ने आवश्यकता पनि औँल्याए। आइटी र मोबाइल प्रविधिको विकासले विश्व अर्थतन्त्र प्रतिस्पर्धात्मक बनेको उल्लेख गर्दै नेपालले पनि त्यही दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘आजको युग चेतनाको प्रतिस्पर्धाको युग हो,’ उनले भने, ‘त्यसैले उद्योगलाई प्रविधिसँग जोड्न सकिए मात्र उत्पादन, बजार र रोजगारी सबै क्षेत्रमा सुधार आउँछ।’

उनले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गरेमा युवाहरू विदेशिनु नपर्ने दाबी गरे। आफ्नै देशमा उद्यम र व्यवसाय गरेर बस्ने वातावरण बनेमा मात्र आर्थिक आत्मनिर्भरता सम्भव हुने उनको निष्कर्ष थियो। उनले सरकार र सरोकारवाला निकायलाई घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार पहुँच, नीति सहजीकरण र प्रवद्र्धनमा विशेष ध्यान दिन आग्रह गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit