काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गरी अर्बौं रुपैयाँको लगानीको प्रभावकारी उपयोग गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले दुवै विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्ययोजना बनाएर सम्बन्धित निकायलाई सक्रिय बनाउनुपर्ने सुझाव दिएका हुन्।
बैठकमा केही सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल अपेक्षाअनुसार सञ्चालन हुन नसक्नुका कारणबारे छानबिन गर्नसमेत माग गरे।
समिति सदस्यहरू जगदीश खरेल, डा। अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती र अनुष्का श्रेष्ठले दुवै अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए।
समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बढ्दो चाप व्यवस्थापन गर्न पनि गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताइन्।

















प्रतिक्रिया दिनुहोस्