Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

नेपाल बैङ्कद्वारा रसुवाका ९२ दुर्गम क्षेत्रका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण

नेपाल बैङ्कद्वारा रसुवाका ९२ दुर्गम क्षेत्रका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
विज्ञापन
Advertisement

रसुवा । नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रसुवाका दुर्गम क्षेत्रका सात विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलोपटक सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए।

बैङ्कले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय गतलाङ, गोसाइँकुण्ड आधारभूत विद्यालय आमाछोदिङ्मो, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, लिङलिङ प्राथमिक विद्यालय तथा रसुवा माध्यमिक विद्यालय धुञ्चेमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री प्रदान गरेको हो।

विद्यालयका तर्फबाट कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले बैङ्कको सहयोगले हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाएको भन्दै धन्यवाद व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आगामी दिनमा शैक्षिक कार्यक्रमसँग थप जोड्न आग्रह गरे।

शाखा प्रबन्धक तामाङका अनुसार २०३३ सालमा जिल्लाको पहिलो बैङ्कका रूपमा स्थापना भएको धुञ्चे शाखाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश काम पाँच मिनेटभित्र सम्पन्न हुने व्यवस्था मिलाएको छ।

धुञ्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक तथा पाँच हजारभन्दा बढी अन्य सेवाग्राही रहेको खजाञ्ची प्रकाश ढकालले जानकारी दिए। पुरानो सदरमुकाम स्याफ्रुबेँसीमा पनि बैङ्कको काउण्टर सञ्चालनमा रहेको छ।

सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीका अनुसार शाखाले जिल्लामा रहेका १७ वटा बैङ्क तथा वित्तीय संस्थालाई नगद प्रवाह गर्ने, सरकारी कार्यालयको भुक्तानी व्यवस्थापन गर्ने तथा राजस्व रकम संकलन गर्ने जिम्मेवारीसमेत निर्वाह गर्दै आएको छ। छिटोछरितो सेवा प्रवाहका कारण सेवाग्राहीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए।

देशकै पहिलो बैङ्कका रूपमा १९९४ सालमा स्थापना भएको नेपाल बैङ्कको हाल ७२ जिल्लामा शाखा कार्यालय सञ्चालनमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit