काठमाडौं । चालु आर्थिक वर्ष २०८२ ÷८३ को समीक्षा अवधिमा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र वृद्धि भएको थियो। यसले चालु वर्षमा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी उल्लेखनीय रूपमा बढेको देखाएको छ।
राष्ट्र बैंकका अनुसार २०८३ जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो।
यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।














प्रतिक्रिया दिनुहोस्