काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेसँगै यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेकोमा मंगलबार २०० रुपैयाँले घटेको थियो। बुधबार भने सुनको मूल्यमा एकै दिन उल्लेख्य वृद्धि देखिएको हो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य बढ्दो क्रममा रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ४,१३३.६ अमेरिकी डलर र चाँदी प्रति औँस ६०.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औँस ४,०६०.५४ अमेरिकी डलर र चाँदी ५८.८ अमेरिकी डलरमा कारोबार भएको थियो।














प्रतिक्रिया दिनुहोस्