काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको विजेता सार्वजनिक भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। आन्तरिक राजश्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेताको घोषणा गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेता घोषणा गर्दै बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गरी अर्थतन्त्रलाई थप औपचारिक, पारदर्शी र कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए।
विभागका अनुसार १० लाख रुपैयाँको बम्पर उपहार जित्ने कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। विजेताको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै नाम र मोबाइल नम्बर सार्वजनिक नगरिएको अर्थ मन्त्रालयले जनाएको छ। विभागले विजेताले साउन ७ गते शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेको पुष्टि गरेको छ भने थप पहिचान प्रक्रिया विभागले नै पूरा गर्ने जनाएको छ।
बम्पर उपहारसँगै साउन १ देखि १५ गतेसम्मका प्रत्येक दिनका एक–एक जना गरी १५ जना उपभोक्ताले कर कट्टीपछिको १ लाख १२ हजार ३७४ रुपैयाँ बराबरको दैनिक उपहार पनि जितेका छन्। पहिलो लट्रीमा १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउने १५ जना छनोट भएका छन्। कर कट्टीपछि उनीहरूले जनही एक लाख रुपैयाँ पाउनेछन्। यसमा १६० रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ता पनि विजेता बनेका छन्। यसले धेरै रकमको सामान खरिद गर्नेले मात्रै पुरस्कार पाउने नभई योग्य कुपनले समान अवसर पाउने देखाएको छ।
विजेता कुपन नम्बरहरू ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेका छन्। आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार विजेताको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ’ प्रविधिबाट पूर्ण कम्प्युटरकृत प्रणालीमार्फत गरिएको हो। यस प्रक्रियामा कुनै मानवीय हस्तक्षेप नहुने भएकाले छनोट निष्पक्ष रहेको उनले बताए।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबार वेबसाइटमा दर्ता भएका छन्, जसको कुल कारोबार मूल्य ८ करोड २४ लाख रुपैयाँ पुगेको छ। यी कारोबारमा ३ हजार ९१५ विक्रेता आबद्ध रहेका छन्। यस्तै, सोही अवधिमा क्यूआर तथा अन्य अनलाइन माध्यमबाट ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानीमार्फत भएका योग्य कारोबार भने प्रणालीमै स्वतः उपहार कार्यक्रममा समावेश हुने भएकाले छुट्टै बिल दर्ता गर्नुपर्ने व्यवस्था छैन।
विभागले छनोट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ। उपहार विजेताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजश्व कार्यालयमा पुगेर पुरस्कार रकम दाबी गर्नुपर्ने व्यवस्था रहेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको उद्देश्य उपभोक्तामा बिल लिने बानीको विकास गर्नु, करको दायरा विस्तार गर्नु तथा मूल्य अभिवृद्धि कर (भ्याट)लाई राजस्वको दिगो स्रोतका रूपमा सुदृढ बनाउनु रहेको छ। कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बराबरको बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।















प्रतिक्रिया दिनुहोस्