काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी गत २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका थिए । हवाई मार्गबाट लागुऔषध तस्करी हुन सक्ने आशंकामा यात्रुको विवरण विश्लेषण तथा प्रोफाइलिङ गर्ने क्रममा उनीमाथि शंका लागेको प्रहरीले जनाएको छ। लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको हेरोइन फेला परेको थियो ।
प्रहरीका अनुसार उनी यसअघि लाओसबाट हवाई र भारतबाट स्थलमार्ग हुँदै दुईपटक नेपाल आएका थिए । उनले जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको खुलेको छ । प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको दाबी गरेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र, पासपोर्ट र मोबाइल बरामद भएको छ । बरामद हेरोइन भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्