काठमाडौं । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपाल–चीन सीमाक्षेत्रमा हिमपहिरोका कारण ठूलो ‘कृतिम ताल’ बनेको छ।
तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिर बग्नसमेत सुरु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
चिनियाँ मन्त्रालयका अनुसार चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै यस्तो ताल बनेको हो। मन्त्रालयले आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको छ। पानीको मात्रा बढ्दै गएकाले ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुट्ने अवस्था र त्यसबाट आउन सक्ने बाढीको प्रभाव आकलन गर्न बाढीसम्बन्धी ‘मोडलिङ’, सिमुलेसन तथा विश्लेषणसमेत भइरहेको ग्लोबल टाइम्सले जनाएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरोका कारण नदीको बहाव अवरुद्ध भएर ताल बनेको जनाएको छ। उक्त तालमा पानीको मात्रा बढ्दै गएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै चिनियाँ पक्षले निरन्तर निगरानी र पूर्वतयारी गरिरहेको छ।
उक्त ताल फुटे नेपालतर्फ पुनः बाढी आउने सम्भावना रहेकाले सम्भावित तल्लो तटीय प्रभावको जोखिमबारे थप सतर्कता बढाउनुपर्ने देखिएको छ।















प्रतिक्रिया दिनुहोस्