काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। प्राप्तिपछि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको सूचनाअनुसार सञ्चालक समितिको निर्णयबमोजिम विन नेपाल लघुवित्तलाई प्राप्ति गरी साविक संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा सर्नेछ।
दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा २०८३ भदौ २१ गते आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुने जनाइएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११ को उपविनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको हो।
प्राप्तिपछि विन नेपाल लघुवित्तको वित्तीय कारोबार, सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा समाहित हुनेछन्। नयाँ संरचनाअनुसार संस्थाले एकीकृत रूपमा लघुवित्त सेवा सञ्चालन गर्नेछ।















प्रतिक्रिया दिनुहोस्