काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रारम्भिक आकलनअनुसार बाढीपहिरोबाट भएको भौतिक क्षतिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको छ।
विपद्बाट प्रभावित ग्राहकलाई सञ्चार सेवामा सहज पहुँच पुर्याउन एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराइरहेको छ। उक्त सेवाबाट तीन लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन्।
बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ। सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको हो।
कम्पनीका अनुसार ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्म १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ। बाढीका कारण बन्द भएका मोबाइल टावरको संख्या घट्दै गएसँगै निःशुल्क सेवाको प्रयोगसमेत बढिरहेको एनसेलले जनाएको छ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुग्दा नुवाकोट, रसुवा र धादिङका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन्।
बाँकी तीन टावरमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेको एक टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। नुवाकोटको त्रिशूली, बिदुरस्थित टावर तथा रसुवाको तिरुस्थित टावर पुनः सञ्चालनका लागि प्राविधिक टोली फिल्डमै खटिएर आवश्यक काम गरिरहेको कम्पनीले जनाएको छ।
संकटको समयमा ग्राहकलाई निरन्तर सम्पर्कमा राख्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सेवा पनि पुनः सक्रिय गरेको छ। ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमकार्डलाई समेत पुनः सक्रिय गरिएको कम्पनीले जनाएको छ।
पुनः सक्रिय गरिएका ती ग्राहकले पनि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाउनेछन्। यसबाट विपद्को समयमा परिवार तथा आफन्तसँग सम्पर्क कायम राख्न तथा उद्धार र राहतका लागि आवश्यक समन्वय गर्न सहज भएको कम्पनीको भनाइ छ।
यसैबीच, एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गरिरहेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउनुअघि खाता नम्बर, क्यूआर कोड वा लिंक आधिकारिक भए–नभएको सुनिश्चित गर्न आग्रह गर्दै आएको छ। सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स र हृदयविदारक प्रकृतिका फोटो तथा भिडियो सामग्री नराख्न र राखिएको भए तत्काल हटाउनसमेत अपिल गरिएको छ।















प्रतिक्रिया दिनुहोस्