काठमाडौं । एफवानसफ्ट ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फरलगायत एफवानसफ्ट ग्रुपअन्तर्गतका कम्पनी तथा कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो। ग्रुपले बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरिएको जनाएको छ।
यसैबीच, इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा बाढीपीडितका लागि सहयोग गर्ने प्रयोगकर्ताहरूको योगदान पनि उल्लेख्य रहेको कम्पनीले जनाएको छ। इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन्। यसमा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त योगदानसमेत समावेश रहेको कम्पनीले जनाएको छ।
भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ जना प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ जना प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ। एफवानसफ्ट ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा सहयोगमा निरन्तर खटिरहेका सरकारी निकाय, स्वयंसेवक, संघसंस्था तथा व्यक्तिहरूप्रति पनि आभार व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्