काठमाडौं। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २४.५० प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको कमी र गैरब्याज आम्दानीमा भएको सुधारले मुख्य भूमिका खेलेको देखिन्छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५१.६९ प्रतिशतले घटेर ४८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब १ करोड ९ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी भने १.४५ प्रतिशतले मात्र बढेर ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ थियो। गैरब्याज आम्दानीतर्फ खुद फि तथा कमिसन आम्दानी ३४.५० प्रतिशतले वृद्धि भई १ अर्ब २२ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ट्रेडिङ आम्दानी ४४.७० प्रतिशतले बढेर ४१ करोड २१ लाख रुपैयाँ पुगेको छ। यी सुधारका कारण बैंकको सञ्चालन मुनाफा ३५.९० प्रतिशतले बढेर ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ कायम भएको छ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएको छ। गत असार मसान्तको तुलनामा पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ७.४८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको सम्पत्तिको गुणस्तरमा पनि सुधार आएको छ। कुल निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा अनुपात ०.९५ प्रतिशतबाट घटेर ०.६० प्रतिशत कायम भएको छ।
यससँगै कर्जा नोक्सानी व्यवस्थापनको कभरेज अनुपात १२०.१७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १०९.६३ प्रतिशत थियो। ब्याजदर घट्दो क्रममा रहँदा बैंकको कोषको औसत लागत ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ। आधार दर ५.४० प्रतिशतबाट घटेर ४.६१ प्रतिशत र औसत ब्याजदर अन्तर ३.४८ प्रतिशतबाट घटेर ३.१७ प्रतिशत कायम भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात ७०.११ प्रतिशत र तरलता अनुपात ३८.४१ प्रतिशत रहेको छ। नाफा वृद्धिसँगै बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ।
पुँजीमा प्रतिफल १३.२९ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.१२ प्रतिशत कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १०.०८ गुणा रहेको छ। ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र पुँजी पर्याप्तता अनुपात ११.३२ प्रतिशत रहेको बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २० लाख रुपैयाँ पुगेको छ। समग्रमा, ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र फि तथा कमिसन आम्दानीको विस्तारले ग्लोबल आइएमई बैंकको नाफा बढाउन सहयोग गरेको छ। तर घट्दो ब्याजदर अन्तर र पुँजी पर्याप्तताका सूचकलाई आगामी दिनमा बैंकले कसरी व्यवस्थापन गर्छ भन्ने विषय वित्तीय प्रदर्शनका लागि महत्वपूर्ण रहने देखिन्छ।














प्रतिक्रिया दिनुहोस्