काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० दूरसञ्चार टावर निर्माण गर्ने भएको छ। करिब १२ अर्ब रुपैयाँ लागतका टावर निर्माणको ठेक्का प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मानव बस्ती भएका कुनै पनि क्षेत्र दूरसञ्चार सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती, जुगल हिमाल तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित मन्त्रालय पुगेका जनप्रतिनिधि र स्थानीय युवासँगको छलफलमा मन्त्री तिमिल्सिनाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नयाँ पूर्वाधार निर्माणलाई तीव्रता दिइएको जानकारी दिएक हुन् ।
उनका अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तार भइरहेको छ। तर, टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्नु मुख्य चुनौतीका रूपमा देखिएको छ। मन्त्री तिमिल्सिनाले सञ्चार सेवासम्बन्धी नागरिकका गुनासो तत्काल सम्बोधन गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। टावर थप्ने, सञ्चालनमा रहेका टावरको क्षमता वृद्धि गर्ने वा प्राविधिक समस्या समाधान गर्ने जुनसुकै उपाय अपनाएर भए पनि सेवा सुधार गर्न उनले आग्रह गरे ।
विद्युत् सुविधा नपुगेका क्षेत्रमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न तथा सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमन गर्नसमेत उनले निर्देशन दिएका छन् । यसैबीच, जुगल गाउँपालिकामा सञ्चार सेवा विस्तारको माग सम्बोधन गर्न नेपाल टेलिकमले तत्काल प्राविधिक टोली पठाउने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले गाउँपालिकाको सञ्चार अवस्थाबारे स्थलगत अध्ययन गरी प्राविधिक समस्या पहिचान तथा आवश्यक सुधारका काम अघि बढाइने बताइन् ।
स्थानीय युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट र आधार शिविरसम्म मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन्। समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको भ्यु पोइन्ट तथा आधार शिविरसम्म सञ्चार सुविधा पुर्याउन उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ। त्यस्तै, मेलम्ची डाँडामा रहेको टावरको क्षमता वृद्धि र मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न तथा पाङ्ग्रेप डाँडामा रहेको टावर मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन स्थानीयले आग्रह गरेका छन्।
बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायतका बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेका बेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। तर, हिमाली पर्यटकीय क्षेत्र र गाउँका बस्तीमा भरपर्दो सञ्चार सुविधाको अभावले पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको स्थानीय युवाहरूको भनाइ छ। छलफलमा प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढिरहेको उल्लेख गर्दै दुर्गम र हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तारसँगै सेवाको गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।















प्रतिक्रिया दिनुहोस्