नयाँदिल्ली। नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग भेटवार्ता गर्दै दुई देशबीचको हवाई सहकार्य विस्तारका विषयमा छलफल गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री पौडेलले भारतीय नागरिक उड्डयनमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको उनको निजी सचिवालयले जनाएको छ।
हवाई सम्पर्कलाई पर्यटन आवागमन विस्तारको महत्वपूर्ण आधार मान्दै नेपालले भारतसँग उड्डयन सहकार्यलाई थप प्रभावकारी बनाउने पहल गरेको हो । भारतीय पर्यटकका लागि नेपाललाई सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सरकारी योजनासँग पनि यो पहल जोडिएको छ ।यसैबीच, नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ नयाँदिल्लीमा ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाल–भारत सम्बन्ध कूटनीतिक दायरामा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतामा आधारित रहेको बताए । पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्ध गहिरो बनाउनुका साथै आर्थिक अवसर विस्तारमा महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो । ‘नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ,’ उनले भने । उनले पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताए ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजको पनि सहभागिता थियो । उनीहरूले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्वबारे धारणा राखे। मन्त्रालयका अनुसार उत्तराखण्डका पर्यटनमन्त्री महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले ‘नेपाल कलिङ’ अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गरे। उनले नेपाल सुरक्षित, खुला र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक तथा वेलनेस पर्यटनका सम्भावना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले पनि ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाएका थिए।















प्रतिक्रिया दिनुहोस्