काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् । महानगर क्षेत्रमा कर्फ्यु आदेश आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप भएको छ ।
शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।
यसैबीच आज बसेको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।
बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई ¥याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरे ।
बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताए ।
बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति जर्नादनसिंह क्षेत्रीले सामाजिक सद्भाव कायम गरेर शान्ति कायम गर्न आग्रह गरे ।

















प्रतिक्रिया दिनुहोस्