काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलपोखरीस्थित नाइमाकै कार्यालयमा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा मंसिर २५ गते सम्पन्न पहिलो वार्षिक साधारण सभाले संस्था स्थापना देखि हालसम्मका प्रमुख उपलब्धीको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ।
सभामा कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरेका थिए । साथै उनले संस्थाको दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याएको नाइमा नेपाललेले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सभाले २०८२/८३ मा सञ्चालन गर्ने कार्यक्रम समेत पारित गरेको छ। जसमा नियमित मोबिलिटी सम्वाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत बहस पैरवी गर्ने लगायतका विषयहरु सामेल छन् । यस्तै, नाइमाले आगामी २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा ‘नाइमा मोविलिडि एक्स्पो २०२६’आयोजना गर्ने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र Megatech Group Pvt. Ltd.लाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ।
यस्तै, सभामा अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल उपलब्धिहरु प्रस्तुत गर्दै पहिलो वार्षिक साधारण सभाको सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको धारणा राखिन् ।

















प्रतिक्रिया दिनुहोस्