मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय बढी स्थानीय बिरामी परेका छन् ।ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिला र वृद्धवृद्धा प्रभावित छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो ।
बिरामी संख्या बढेसँगै नर्खजिमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवैको अभाव देखिएको छ। उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगेपनि नियन्त्रणमा आउन सकेको छैन। उपचारमा खटिएको टोली १२ गते गाँउबाट फर्किसकेको छ भने अहिले एक जना स्वास्थ्यकर्मी मात्रै बिरामीको उपचारमा सक्रिय छन् ।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। उनका अनुसार अब बिरामीलाई दिने सिटामोट समेत सकिन लागेको छ । ‘गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ। स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको छ । आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मीले बिरामी हेर्नुपर्दा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी दिए । ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् । औषधि अभाव देखिन्छ। ५० जनालाई खोप लगाइएको उनको भनाइ छ । आफू पनि ज्वरोबाट प्रभावित भएपछि दुई दिन अघि टोली फर्किनुपरेको उनले बताए । समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने भन्दै डाक्टर धितालले यसतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ । उपचारका लागि गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम बढेको छ ।

उता गाउँमा ज्वरोको प्रकोप बढिरहँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँ– गाउँमा पुगिरहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ। बिरामी संख्या बढेकाले औषधि अभाव भएको हो । दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्स मार्फत ल्याउने तयारी भइरहेको उनले बताएका छन । जिल्ला अस्पताललाई पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका मौखिक रुपमा आग्रह गरिएको भएपनी सकारात्मक जवाफ नआएको सिअहेव रावलले जानकारी दिए ।

यसबारे जिल्ला अस्पताल मुगुका प्रमुख डा.निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउने जवाफ दिए । साथै भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहाँबाटै टोली परिचालन गरिएको उनको भनाइ छ । नेपाल न्यूज बैंक







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्