काठमाडौं । नेपालको बीमा पहुँच ५१ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार समग्र बीमा बजारको कोष १० खर्ब रुपैयाँभन्दा बढी पुगेको हो ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिए । जसमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी रहेका छन् ।
उनका अनुसार, गत जेठ मसान्तसम्म बीमा कम्पनीहरूले २ खर्ब २३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने ६६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । बीमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान ३.६९ प्रतिशत पुगेको छ ।
हाल नेपालमा १ करोड ६७ लाख बीमालेख सक्रिय अवस्थामा रहेका छन् भने यस क्षेत्रले १३ हजार प्रत्यक्ष रोजगारी तथा करिब ४ लाख अभिकर्ता र १ हजार २०० भन्दा बढी सर्भेयरलाई रोजगारी दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमनलाई कडाइ गर्दै आर्थिक वर्ष २०८२/८३ मा १८ वटा कम्पनीलाई सचेत तथा जरिवाना गरेको जनाएको छ । यस्तै, ७९ वटा स्थलगत निरीक्षण र २७६ वटा उजुरी फछ्र्यौट गरेको कार्यकारी निर्देशक सुवेदीले जानकारी दिए ।














प्रतिक्रिया दिनुहोस्