काठमाडौं। एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै भिलले व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्य राखेको जनाएको छ।
भिलले व्यवसायहरूलाई उपयुक्त क्रिएटर छनोट गर्न, अभियान सञ्चालन गर्न, भिडियो सम्पादन तथा स्वीकृति प्रक्रिया व्यवस्थापन गर्न, भुक्तानी प्रणाली सञ्चालन गर्न र कन्टेन्टको अधिकार सुरक्षित राख्न सहयोग गर्ने जनाएको छ । यससँगै नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पाउनेछन् ।

भिलको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि क्षेत्र, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बुधबार आयोजित कार्यक्रममा बोल्दै भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले नेपाल र भारतमा सेवा विस्तार दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए ।
उनले दक्षिण एसिया लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूको क्षेत्र रहेको उल्लेख गर्दै विश्वस्तरीय प्रविधिमार्फत उनीहरूलाई जोड्ने पूर्वाधार निर्माण गर्ने उद्देश्य भिलको रहेको जानकारी दिए। भिलले क्रिएटरलाई दिगो करियर निर्माण गर्न र व्यवसायलाई प्रभावकारी कन्टेन्टमार्फत विकास गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार तथा प्रबन्ध निर्देशक डा. मनीष थापा विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता र प्रविधिगत नवप्रवर्तनमा आधारित भिलले अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभाबीच नयाँ अवसर सिर्जना गर्ने बताए। नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापना गरिएको भिल एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो । यसले ब्रान्ड र क्रिएटरलाई एउटै स्मार्ट प्रणालीमार्फत जोड्ने काम गर्छ। परम्परागत रूपमा इमेल, सन्देश आदानप्रदान गर्ने एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणाली प्रयोग गरेर सञ्चालन हुँदै आएका क्रिएटर अभियानलाई भिलले एउटै प्लेटफर्ममा व्यवस्थापन गर्ने व्यवस्था गरेको छ।

भिलमार्फत व्यवसायहरूले आफ्ना उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टसम्बन्धी अभियान तयार गर्न सक्छन्। त्यसपछि क्रिएटरहरूले आवेदन दिन वा भिलको एआई आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन सक्छन् । छनोट भएका क्रिएटरहरूले प्लेटफर्ममै उपलब्ध भिडियो सम्पादन उपकरण र इजाजत प्राप्त सङ्गीत प्रयोग गरी कन्टेन्ट तयार गर्न सक्नेछन् । ब्रान्डले कन्टेन्टको समीक्षा, आवश्यक सुधार सुझाव र अन्तिम स्वीकृति प्रदान गरेपछि भुक्तानी प्रक्रिया भिल वालेटमार्फत स्वचालित रूपमा सम्पन्न हुने व्यवस्था रहेको छ ।
हाल भिलमार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर र १२१ भन्दा बढी देश जोडिएका छन् । नेपाल र भारतका व्यवसायहरूले वेबसाइट तथा क्रिएटरहरूले भिलको मोबाइल एपमार्फत सेवा प्रयोग गर्न सक्नेछन्। नेपालमा भुक्तानी प्रक्रियालाई सहज बनाउन भिलले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), फोनपे, इसेवा, खल्ती र हाम्रो पे जस्ता भुक्तानी साझेदारसँग सहकार्य गरेको छ । नेपालमा व्यवसायका लागि एनसीएचएलमार्फत, क्रिएटरका लागि हाम्रो पेमार्फत तथा व्यवसाय र क्रिएटर दुवैका लागि फोनपे, इसेवा र खल्तीमार्फत स्थानीय भुक्तानी सुविधा उपलब्ध हुने जनाइएको छ । भिलको यो विस्तारले नेपालको क्रिएटर अर्थतन्त्रलाई थप व्यवस्थित बनाउँदै डिजिटल बजार र व्यवसायिक सहकार्यको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्