काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा सक्रिय पैचो पसलले संस्थागत विकासको नयाँ चरणमा प्रवेश गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै कम्पनी ‘पैचो पसल प्रालि’बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि कम्पनीले नयाँ संस्थागत संरचनाअनुसार कारोबार सुरु गरेको जनाएको छ।
वि.सं. २०७१ सालमा स्थापना भएको पैचोले विगत १२ वर्षदेखि नेपाली कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच विश्वासको सशक्त सेतुका रूपमा काम गर्दै आएको छ। उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृङ्खला विकास गर्दै कम्पनीले नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको सफल मोडलका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
पब्लिक लिमिटेडमा रूपान्तरणसँगै कम्पनीले पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता वृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले पब्लिक लिमिटेडमा रूपान्तरणलाई केवल कानुनी संरचना परिवर्तन नभई नेपाली कृषि उद्यमको भविष्य निर्माण गर्ने ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। उनले भने,‘पैचो एउटा व्यवसाय मात्र होइन, यो लाखौं किसानको सपना, उपभोक्ताको विश्वास र स्वदेशी उत्पादनप्रतिको हाम्रो प्रतिबद्धताको साझा अभियान हो। पब्लिक लिमिटेडमा रूपान्तरणसँगै अब यस यात्रामा सर्वसाधारण, लगानीकर्ता र सम्पूर्ण नेपाली समुदायलाई सहयात्री बनाउने हाम्रो लक्ष्य छ।’
उनका अनुसार कम्पनीको आगामी रणनीति नेपाली कृषि उत्पादनलाई अझ प्रतिस्पर्धी, गुणस्तरीय र विश्व बजारसम्म पुर्याउने दिशामा केन्द्रित हुनेछ।कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।
पैचोले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका कृषकसँग प्रत्यक्ष सहकार्य गर्दै ताजा कृषि उत्पादनलाई आधुनिक प्रशोधनमार्फत बजारयोग्य बनाउँदै आएको छ। हाल कम्पनीले केचप, जाम, विभिन्न प्रकारका अचार, चुक, छोप, आँटो, कोदोको पिठो, सिन्की, मह लगायत करिब १०० भन्दा बढी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ। यी उत्पादनहरू नेपालभरका आधुनिक खुद्रा सञ्जालमार्फत बिक्री भइरहेका छन् भने अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार हुँदै गएको कम्पनीले जनाएको छ। ‘किसान समृद्ध भए मात्रै कृषि समृद्ध हुन्छ, र कृषि समृद्ध भए मात्रै राष्ट्रको अर्थतन्त्र दिगो रूपमा सुदृढ बन्न सक्छ’ भन्ने विश्वासका साथ कम्पनीले आगामी वर्षहरूमा लाखौं कृषकसँगको सहकार्य विस्तार गर्ने रणनीति अघि सारेको छ।
प्रबन्ध निर्देशक न्यौपानेका अनुसार देशभर रहेका कृषि उपज संकलन केन्द्रहरूको विस्तार, आधुनिकीकरण र व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। यसबाट कृषकले उत्पादन गरेको ताजा कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउन सहयोग पुग्ने विश्वास कम्पनीको छ। त्यसैगरी कम्पनीले ‘ताजा तरकारी बिक्री भण्डार’ सञ्जाल विस्तार गर्दै ग्रामीण कृषि उपजको प्रत्यक्ष बजारीकरणलाई सुदृढ बनाउने, कृषि प्रशोधन उद्योगमा थप लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अवलम्बन गरेको जनाएको छ।
पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरणसँगै पैचो पसल लिमिटेडले नेपालको कृषि अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्