काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १ गते) देखि पदभार ग्रहण गरेका छन्।
बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजबाट कार्यभार सम्हालेका हुन् ।
बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले यसअघि विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर काम गरिसकेका छन्। उनको अनुभव र नेतृत्वले बैंकको संस्थागत विकास, रणनीतिक योजना, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।
पदभार ग्रहण गर्दै सीईओ आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्न उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि र सरोकारवालाको विश्वासलाई अझ मजबुत बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। लुम्बिनी विकास बैंकले आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास जनाएको छ ।
हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्