काठमाडौं। आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत बम्पर उपहार विजेता घोषणा गरेको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विभागले पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले दोस्रो पाक्षिकको बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका छन् ।
विभागका अनुसार, साउन १६ गतेदेखि ३१ गतेसम्मको दोस्रो पाक्षिक अवधिमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल पुरस्कारका लागि अपलोड भएका थिए । साउनको पहिलो पाक्षिकमा यस्तो बिलको संख्या ७ हजार ७७ मात्र रहेकोमा दोस्रो पाक्षिकमा उल्लेख्य वृद्धि भएको विभागले जनाएको छ। यस्तै, क्यूआर कारोबारमार्फत स्वतः उपहार योजनामा सहभागी हुने कारोबार संख्या पनि बढेको छ। पहिलो पाक्षिकमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको यस्तो कारोबार दोस्रो पाक्षिकमा बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।
विभागका अनुसार दोस्रो पाक्षिकमा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार उपहार योजनामा सहभागी भएका थिए। तीमध्ये १६ जना विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार जितेका छन् भने एक जनाले बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका हुन् ।

विजेता कुपन नम्बरमा ०३०३४२२७९९५६, ०१९२५६५१०९३५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२ र ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७० र ०२५३५७३३१९४१ , ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५ र ०२७७११४८७१४५ रहेका छन्।
एक लाख रुपैयाँ पुरस्कारमा २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले खुद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, १० लाख रुपैयाँको बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर कट्टी भएपछि विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा पुरस्कार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिने विभागले जनाएको छ ।कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने, बिल लिने बानीलाई प्रोत्साहन गर्ने तथा नियमसम्मत कारोबार विस्तार गर्ने उद्देश्यले विभागले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्