Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

श्रम सम्बन्धबाट आर्थिक साझेदारीतर्फ नेपाल–कोरिया सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड

श्रम सम्बन्धबाट आर्थिक साझेदारीतर्फ नेपाल–कोरिया सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–कोरिया सम्बन्धलाई श्रम तथा रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपाल–कोरिया आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका नेपाली रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताए । उनले नेपाल–कोरिया सम्बन्धलाई कूटनीतिक र सांस्कृतिक सम्बन्धमा मात्र सीमित नराखी लगानी, प्रविधि, उत्पादन र व्यापारको साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

ढकालका अनुसार कोरियाले पछिल्ला दशकमा हासिल गरेको औद्योगिक विकासबाट नेपालले अनुशासित कार्यसंस्कृति, गुणस्तर, प्रविधि, निर्यातमुखी उत्पादन तथा सरकार–निजी क्षेत्र सहकार्यका क्षेत्रमा महत्वपूर्ण पाठ सिक्न सक्छ ।कोरियामा सिकेको कार्यसंस्कृति, सीप र उत्पादकत्वलाई रिटर्नी उद्यमीले स्वदेशी उद्योगमा प्रयोग गर्न सके नेपालको औद्योगिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए । ढकालले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गरे ।  भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणलाई उपयोग गर्दै नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो । देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै ढकालले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीलाई लगानी साझेदारीको अवसर उपलब्ध गराउन सकिने बताए ।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क ते–युङ, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग नेपालका कन्ट्री डाइरेक्टर कङ मू–हुन, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्कीलगायत सहभागी थिए ।प्यानल छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठलगायतले नेपाल–कोरिया आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारका लागि आवश्यक नीतिगत, संस्थागत तथा वित्तीय सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । छलफलमा श्रम, उद्योग, लगानी, वित्तीय पहुँच, प्रविधि हस्तान्तरण तथा रिटर्नी उद्यमीका विषयमा विचार–विमर्श भएको थियो ।

संघका महासचिव जितेन्द्र बानियाँले नेपाल–कोरिया सम्बन्धलाई श्रम र रोजगारीको सम्बन्धबाट माथि उठाएर आर्थिक तथा व्यावसायिक साझेदारीमा विस्तार गर्नुपर्ने बताए । कोरियाबाट फर्किएका नेपालीसँग सीप, पुँजी, प्रविधि, कार्यसंस्कृति र अन्तर्राष्ट्रिय बजारको अनुभव रहेकाले उनीहरूलाई स्वदेशमै लगानी र उत्पादनमा जोड्नुपर्ने उनको भनाइ थियो । कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै डा. सञ्जीव हुमागाईंले सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कूटनीतिक नियोग, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग तथा रिटर्नी उद्यमीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । संघका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल र कोरियाबीचको आर्थिक सम्बन्धलाई नयाँ आयाम दिने, कोरियाबाट फर्किएका नेपालीको सीप, पुँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने तथा सम्भावित कोरियाली लगानीकर्तासँग नेपाली उद्यमीलाई जोड्ने विषयमा आगामी दिनमा थप पहल गर्ने बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit