काठमाडौं । विदेशमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना शेयर बजारमा सूचीकृत हुने तयारीमा रहेको छ।
सोलुखुम्बुमा निर्माण भएको १९ दशमलव ८ मेगावाट क्षमताको जलप्रवाहमा आधारित बेनी खोला जलविद्युत् आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ। आईपीओपछि आयोजनाको शेयर अब दोस्रो बजारमा सूचीकृत हुने प्रक्रियामा रहेको छ । शेयर सूचीकृत भएसँगै हजारौं सर्वसाधारण नेपालीलाई जलविद्युत् आयोजनाको प्रत्यक्ष स्वामित्वमा सहभागी हुने अवसर प्राप्त हुनेछ।
बेनी खोला जलविद्युत् आयोजनामा बिगले सुरुवाती चरणदेखि नै लगानी गरेको थियो। विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा सामूहिक रूपमा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा बिग स्थापना भएको थियो । हाल कम्पनीमा १६७ भन्दा बढी शेयरधनी रहेका छन् भने अधिकांश शेयरधनी विदेशमा कार्यरत छन् ।
आयोजनाले सञ्चालनको प्रारम्भिक चरणमा लगातार दुई आर्थिक वर्ष नोक्सानी व्यहोरेको थियो । पछिल्लो आर्थिक वर्षमा भने वित्तीय अवस्थामा सुधार गर्दै १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी खोला जलविद्युत् आयोजनालाई अहिलेको अवस्थामा ल्याउन कम्पनीले निर्वाह गरेको भूमिकाप्रति गर्व लागेको बताएका छन् । ‘बेनी खोलालाई यो चरणसम्म ल्याउन सानो भूमिका निर्वाह गर्न पाउँदा हामी गर्व गर्छौं। यो शेयर निष्कासन हाम्रा आफ्नै लगानीकर्ताका लागि मात्र होइन, हजारौं नेपालीका लागि पनि खुसीको खबर हो,’ राईले भने, ‘देशलाई ऊर्जा दिइरहेको आयोजनामा सर्वसाधारण नेपालीलाई समेत शेयरधनी बन्ने अवसर मिलेको छ । यस्तै थप उपलब्धि हासिल गर्ने वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो ।’
बिगले जलविद्युत्मा मात्र केन्द्रित नभई आगामी दिनमा आतिथ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको जनाएको छ। विभिन्न क्षेत्रमा लगानी विस्तार गरी जोखिम विविधीकरण गर्ने र शेयरधनीका लागि दीर्घकालीन रूपमा बलियो लगानी पोर्टफोलियो निर्माण गर्ने कम्पनीको लक्ष्य छ। कम्पनीको नेतृत्व अहिले प्रमुख कार्यकारी अधिकृत चेवन राईले गरिरहेका छन् ।
कम्पनीका अनुसार बेनी खोला जलविद्युत् आयोजनामा गरिएको लगानी र त्यसको सफल आईपीओ विदेशमा कार्यरत नेपालीको सामूहिक बचतलाई स्वदेशको उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिने एउटा उदाहरण हो । विदेशमा रहेका नेपालीको बचतलाई जलविद्युत्, पर्यटन, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके त्यसले व्यक्तिगत लगानीकर्तासँगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने कम्पनीको विश्वास छ ।
बेनी खोला जलविद्युत् आयोजनाको शेयर बजारमा प्रवेशसँगै विदेशमा कार्यरत नेपालीको सामूहिक लगानी र स्वदेशी पूर्वाधार विकासबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा कम्पनीको छ ।















प्रतिक्रिया दिनुहोस्