काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार हुने अधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
मंगलबार अपिल जारी गर्दै देउवाले नेपाली कांग्रेसको विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशनका नाममा अघि बढाइएको प्रक्रिया पार्टीको हितमा नरहेको टिप्पणी गरेका छन्। उनले पार्टीभित्र सहमति र सहकार्यको सम्भावना हुँदाहुँदै हतारमा महाधिवेशन गर्न खोजिएको दाबी समेत गरेका छन्। नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका विशेष महाधिवेशन पक्षधरले अघि सारेका छन्। त्यसप्रति असहमति जनाउँदै देउवाले पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिले प्रस्ताव गरेको मंसिर २१ देखि २३ गतेसम्मको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।
देउवाले आफू १४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्। ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले अपिलमा भनेका छन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निर्णय नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी तथा संवैधानिक दृष्टिले उचित नभएको देउवाको जिकिर छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भमा यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनको भनाइ छ।
देउवाले पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसले विगतमा अपनाउँदै आएको एकता, सहमति र सहकार्यको परम्पराबाट पाठ सिक्नुपर्ने बताएका छन्। बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना एकपक्षीय रूपमा महाधिवेशन अघि बढाउँदा पार्टी कमजोर र विभाजित हुने उनको चेतावनी छ। उनले भनेका छन्, ‘अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।’
देउवाले विधान र संविधानबमोजिम महाधिवेशन गर्न पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमतिबिना हतारमा महाधिवेशन गरिए आफू मुकदर्शक भएर नबस्ने चेतावनीसमेत दिएका छन्। पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्न सबै पक्षबाट साथ, सहयोग र सहकार्य आवश्यक रहेको देउवाको धारणा छ ।














प्रतिक्रिया दिनुहोस्