काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको २२ करोड ४७ लाख ७४ हजार रुपैयाँको तुलनामा ४३.४४ प्रतिशत बढी हो। बैंकको नाफामा आएको सुधारको मुख्य आधार कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा आएको ठूलो कमी बनेको छ। गत वर्षको पहिलो त्रैमासमा ५४ करोड ११ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आवको समीक्षा अवधिमा ७४.९७ प्रतिशतले घटेर १३ करोड ५४ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।
कर्जा नोक्सानी व्यवस्थामा करिब ४० करोड ५७ लाख रुपैयाँको कमी आएपछि बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा १३५.५४ प्रतिशतले बढेर ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ३२ करोड ११ लाख ६ हजार रुपैयाँ थियो। यसैगरी, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर २ अर्ब ३५ करोड ७८ लाख रुपैयाँमा झरेको छ। यता ब्याज खर्च पनि १ अर्ब ४४ करोड १६ लाख रुपैयाँबाट घटेर १ अर्ब १४ करोड २ लाख रुपैयाँ कायम भएको छ। ब्याज आम्दानी घटे पनि ब्याज खर्चमा आएको ठूलो गिरावटले खुद ब्याज आम्दानी बढाउन सहयोग गरेको देखिन्छ। गैरब्याज आम्दानीतर्फ बैंकले उल्लेख्य प्रगति गरेको छ। खुद फि तथा कमिसन आम्दानी ५६.९१ प्रतिशतले वृद्धि भएर १९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ करोड ७० लाख रुपैयाँ थियो। यसैगरी बैंकले खुद ट्रेडिङ आम्दानीबाट २९ लाख ८९ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानीबाट २ करोड ९३ लाख ८७ हजार रुपैयाँ प्राप्त गरेको छ।
निक्षेप र कर्जा विस्तारमा वृद्धि
बैंकले पहिलो तीन महिनामा निक्षेप संकलन र कर्जा प्रवाह दुवै विस्तार गरेको छ। गत असार मसान्त २०८३ को तुलनामा असोज मसान्तसम्म ग्राहक निक्षेप २.२० प्रतिशतले बढेर १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख ६९ हजार रुपैयाँ पुगेको छ। असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख ४३ हजार रुपैयाँ थियो। त्यस्तै, यस अवधिमा बैंकको कर्जा प्रवाह ४.९४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ खर्ब ८८ करोड ३१ लाख रुपैयाँ रहेको ग्राहक कर्जा चालु आवको पहिलो त्रैमासमा बढेर १ खर्ब ५ अर्ब ४७ करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
खराब कर्जा बढ्दा सम्पत्तिको गुणस्तरमा दबाब
नाफा र व्यवसाय विस्तारमा सुधार देखिए पनि बैंकको कर्जाको गुणस्तरमा भने चुनौती थपिएको छ। बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.०३ प्रतिशत रहेकोमा चालु आवको समीक्षा अवधिमा बढेर ४.७३ प्रतिशत पुगेको छ । त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात पनि १.३२ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ। खराब कर्जाको अनुपात बढेसँगै कुल निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेज पनि घटेको छ । गत वर्ष १०२.३८ प्रतिशत रहेको यस्तो कभरेज समीक्षा अवधिमा ८३.६७ प्रतिशतमा झरेको छ ।
फण्ड लागत र आधार दर घट्यो
बजारमा ब्याजदर घट्ने प्रवृत्तिको प्रभाव बैंकका प्रमुख ब्याजदरसम्बन्धी सूचकमा पनि परेको छ। बैंकको निक्षेप लागत (कस्ट अफ फण्ड) गत वर्षको ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा आएको छ। त्यस्तै, आधार दर (बेस रेट) ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत कायम भएको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४.५९ प्रतिशतबाट घटेर ४.३८ प्रतिशतमा सीमित भएको छ। यसैगरी, कर्जा तथा निक्षेपको अनुपात (सीडी रेसियो) ८५.६६ प्रतिशतबाट घटेर ८४.०५ प्रतिशत कायम भएको छ।
ईपीएस १६ रुपैयाँ नाघ्यो
खुद नाफामा भएको वृद्धिको सकारात्मक प्रभाव बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ २४ पैसा रहेको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) चालु आवको समीक्षा अवधिमा बढेर १६ रुपैयाँ १२ पैसा पुगेको छ । त्यस्तै, पुँजीमा प्रतिफल (आरओई) ७.५६ प्रतिशतबाट बढेर ९.८४ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.६७ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ । पहिलो त्रैमासको अन्त्यमा बैंकको शेयर बजारमा प्रतिशेयर मूल्य ३४४ रुपैयाँ रहेको थियो। उक्त मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २१.३४ गुणा कायम भएको छ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा, पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत र तरलता अनुपात २५.४५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ५६ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्