काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने बताएका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँगको भेटमा सुवेदीले यस्तो बताएका हुन् । भेटमा एसोसिएसनका प्रतिनिधिहरुले नेप्सेका नवनियुक्त सीईओ सुवेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छन्। भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएका थिए।
उक्त कार्ययोजना निर्धारित समयमै कार्यान्वयन गर्न सके नेपालको पुँजीबजारमा विद्यमान समस्या समाधान गर्न, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न तथा बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
जवाफमा नेप्सेका सीईओ प्रताप सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गर्न नेप्से प्रतिबद्ध रहेको बताए। उनले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने र सोहीअनुरूप काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए।
भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको समग्र विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । यसैबीच, स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित तथा लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।















प्रतिक्रिया दिनुहोस्