काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीले समेत नगद पुरस्कार पाउने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको मनोबल र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यसहित नयाँ पुरस्कार नीति लिएको हो। राखेपले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै व्यक्तिगत तथा टिम इभेन्टका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य पदक विजेताले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, टिम इभेन्टतर्फ स्वर्ण पदक विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कास्य विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ। यसअघि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई मात्रै नगद पुरस्कार दिने प्रचलन थियो। दसौं संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पुरस्कारको दायरामा समेटिनुलाई खेलाडी प्रोत्साहनका दृष्टिले महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।
यसैगरी, प्रतियोगितामा कुल ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने केही खेल औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्।राखेपका सदस्य सचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीबाट ६६० जनाको सहभागिता रहनेछ। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यसैगरी प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।
प्रतियोगिता सञ्चालनका लागि कुल १ हजार ३० जना निर्णायक परिचालन गरिनेछ। तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहने राखेपले जनाएको छ। यसका अतिरिक्त खेल संघका ९६ प्रतिनिधिको समेत सहभागिता रहनेछ। प्रतियोगिताहरू कर्णालीसहित विभिन्न सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना गरिने राखेपले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्