काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि मेसिनरीमा आत्मनिर्भर बन्ने आधार तयार गर्न निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गरेका छन्। कृषि उपकरणको आयात र वितरणमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग विकासमा जुट्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन्।
आजदेखि सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री साहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले निजी क्षेत्रले लगानी र उद्यमशीलताको नेतृत्व लिए सरकारले आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन वृद्धि गरेर सम्भव हुने उल्लेख गर्दै मन्त्री साहले कृषि उत्पादनमा आत्मनिर्भर बन्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए। ‘हामीले कृषि उपकरणको आयात र वितरणमा मात्र सीमित हुनु हुँदैन। नेपालमै कृषि औजार, मेसिन, पार्टपुर्जा र प्रविधि उत्पादन गर्ने उद्योग विकास गर्नुपर्छ,’ उनले भने, ‘किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ। आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ।’
उनले कृषि यान्त्रिकीकरणले खेतीको लागत घटाउनुका साथै श्रम अभाव न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल कृषि मेसिनरी व्यवसायीलाई केवल मेसिनरीका व्यापारीका रूपमा मात्र नभई कृषि रूपान्तरणका अभियन्ताका रूपमा व्याख्या गर्दै उनले स्वदेशी उत्पादनमा समेत जोडिन आग्रह गरे। ‘तपाईंहरूले किसानलाई उपलब्ध गराउने एउटा मेसिनले खेतीको लागत घटाउँछ, श्रम अभाव कम गर्छ र उत्पादन बढाउँछ। नेपालमै उत्पादन गर्ने एउटा कृषि उपकरणले नयाँ उद्योग, रोजगारी र आत्मनिर्भरताको आधार तयार गर्छ,’ मन्त्री साहले भने।
मन्त्री साहले कृषि यान्त्रिकीकरणलाई कृषि र उद्योगबीचको महत्त्वपूर्ण आर्थिक सम्बन्धका रूपमा अघि बढाउने सरकारको योजना रहेको पनि बताए। यसका लागि स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता, लगानीमैत्री वातावरण निर्माण र नेपाली प्रविधि तथा उद्यमशीलताको प्रवर्द्धनमा सरकारले काम गर्ने उनको भनाइ छ। उनले नेपालमै कृषि उपकरण उत्पादन, एसेम्बली तथा पार्टपुर्जा निर्माण गर्ने उद्योगलाई प्रोत्साहन गर्न नीतिगत र प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, कृषि मेसिनरी उद्योगमा देखिएका नीतिगत, भन्सार तथा प्रक्रियागत समस्या पहिचान गरी निजी क्षेत्रसँगको समन्वयमा समाधान खोजिने उनले बताए।
नेपाली भूगोल र किसानको आवश्यकताअनुसार साना, किफायती, टिकाउ तथा सहजै मर्मत गर्न सकिने कृषि उपकरण उत्पादन गर्ने उद्यमलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए। भन्सार विभागको तथ्यांक उद्धृत गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिब ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। उक्त तथ्यांकमा खाद्यवस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्र भन्न नमिल्ने उनले स्पष्ट पारे।
तर धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो। प्रदर्शनीमा सहभागी व्यवसायीलाई आयात तथा वितरणभन्दा माथि उठेर स्वदेशी उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा लगानी बढाउन आग्रह गर्दै मन्त्री साहले सरकार र निजी क्षेत्रको सहकार्यबाट कृषि मेसिनरीमा आत्मनिर्भर बन्न सकिने विश्वास व्यक्त गरे। ‘निजी क्षेत्रले लगानी र उद्यमशीलताको नेतृत्व लिनुपर्छ। सरकारले नीतिगत सहजीकरण गर्छ। हामी मिलेर कृषि मेसिनरीमा आत्मनिर्भर बन्ने आधार तयार गर्न सक्छौँ,’ उनले भने।















प्रतिक्रिया दिनुहोस्