Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

अटोमोबाइल क्षेत्रलाई विलासिताबाट आर्थिक विकासको आधारका रूपमा हेरौँ : अध्यक्ष श्रेष्ठ

अटोमोबाइल क्षेत्रलाई विलासिताबाट आर्थिक विकासको आधारका रूपमा हेरौँ : अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता प्रभावित भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले सरकारले अझै पनि अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको बताए ।
यसैगरी, उनले अटोमोबाइललाई केवल सवारी साधनको आयात तथा बिक्रीसँग जोडेर हेर्न नहुने भन्दै यसलाई कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, प्रविधि र समग्र आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने धारणा राखे । ‘नेपालमा अटोमोबाइलमा लाग्ने भन्सार तथा करको दर संसारकै उच्चमध्येमा पर्छ। सरकारले यस क्षेत्रलाई अझै पनि विलासिताको वस्तुका रूपमा परिभाषित गरिरहेको छ, जसले क्षेत्रको विस्तार र लगानीलाई निरुत्साहित गरिरहेको छ,’ उनले भने।

श्रेष्ठले विश्वका धेरै राष्ट्रहरुले यातायात तथा मोबिलिटीलाई आर्थिक वृद्धिको आधारका रूपमा लिएर प्रोत्साहनात्मक नीति अवलम्बन गरिरहेको उल्लेख गर्दै नेपालमा भने उच्च कर, नीतिगत जटिलता र पूर्वाधार अभावका कारण क्षेत्रको सम्भावना सीमित भएको बताए । उनका अनुसार सुरक्षित, दिगो र प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्न सके कनेक्टिभिटी विस्तारसँगै ऊर्जा, प्रविधि, लगानी र आर्थिक गतिविधिले समेत गति लिन सक्छ। विशेषगरी विद्युतीय सवारीसाधन तथा नयाँ प्रविधिको विस्तारका लागि दीर्घकालीन र स्थिर नीतिगत वातावरण आवश्यक रहेको उनले बताए ।

पूर्वाधार विस्तारमा राज्य पछि

अध्यक्ष श्रेष्ठले पछिल्लो दुई दशकमा नेपालमा सवारी साधनको संख्या उल्लेख्य रूपमा बढे पनि सडक, पार्किङ, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनसम्बन्धी पूर्वाधार सोही अनुपातमा विस्तार हुन नसकेको बताए । विशेषगरी काठमाडौं उपत्यकामा बढ्दो सवारी चापको तुलनामा सडक पूर्वाधारको विकास सुस्त रहेको उनको भनाइ छ। यातायात प्रणालीलाई व्यवस्थित बनाउन सडक विस्तारसँगै आधुनिक पार्किङ, सार्वजनिक यातायात र स्मार्ट ट्राफिक व्यवस्थापनमा लगानी आवश्यक रहेको उनले बताए ।

सवारीको संख्या बढ्यो, ट्राफिकको संख्या पनि वृद्धि गर्नुपर्छ

सवारी साधनको बढ्दो संख्याको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति पर्याप्त हुन नसकेको श्रेष्ठले बताए । उनका अनुसार ८–१० वर्षअघि काठमाडौंमा करिब ५–६ सयको हाराहारीमा रहेको ट्राफिक प्रहरीको संख्या अहिले पनि लगभग उस्तै अवस्थामा छ, जबकि सो अवधिमा सवारी साधनको संख्या धेरै गुणाले बढेको छ । यसले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा थप दबाब सिर्जना गरेको उनको भनाइ छ। श्रेष्ठले यातायात क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा नहेरी आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गरे । उच्च करको बोझ घटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न सके अटोमोबाइल क्षेत्रले रोजगारी सिर्जना, राजस्व वृद्धि, ऊर्जा रूपान्तरण तथा समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्ने बुझाइ छ।

यस्तै, उनले यातायात प्रणालीको सुधारले नागरिकको आवागमन सहज बनाउनुका साथै व्यापार, पर्यटन, उद्योग तथा लगानी प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit