काठमाडौं। नेपालमा नेपाली उत्पादनको ब्रान्डिङलाई प्रभावकारी बनाउन कानुनी सुधार, गुणस्तर अभिवृद्धि र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपाली उत्पादनमा सम्भावना भए पनि प्रभावकारी ब्रान्डिङ र कानुनी व्यवस्थाको अभावमा अपेक्षित बजार पहिचान बनाउन नसकिएको बताए। उनले ब्रान्डिङसँग सम्बन्धित कानुनी समस्या समाधान गरी आवश्यक कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
‘नेपालमा धेरै सम्भावना भएका वस्तु छन्। छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न सकिएको छैन,’ उनले भने, ‘ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन्। उपयुक्त कानुन बनाई त्यसलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ।’मल्होत्राका अनुसार नेपाली ब्रान्ड कुनै वस्तु वा सेवाको नाममा मात्र सीमित विषय होइन। यो देशको उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी सिर्जना, लगानी, प्रविधि, गुणस्तर र समग्र आर्थिक पहिचानसँग जोडिएको विषय हो। त्यसैले नेपाली ब्रान्डको विकासलाई राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ छ।
नेपालमा उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात विस्तारका विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनले बताए। उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार पहुँच र उपभोक्ताको विश्वास निर्माणमा पनि समान रूपमा ध्यान दिनुपर्ने उनले औँल्याए।‘नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर छ,’ मल्होत्राले भने, ‘मेड इन नेपाललाई विश्व बजारमा बलियो पहिचान बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ।’
उनले नेपाली उत्पादनको बजार विस्तारका लागि सरकारले स्थिर नीति, लगानीमैत्री कानुन, सहज व्यावसायिक वातावरण तथा आवश्यक पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने बताए। निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका कथालाई स्वदेश तथा विदेशमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। मल्होत्राले नेपाली ब्रान्डलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उत्पादनको विशिष्टता र गुणस्तरलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनका अनुसार नेपाली उत्पादनको पहिचान बलियो बनाउन सके स्वदेशी वस्तुको बजार विस्तार हुनुका साथै रोजगारी सिर्जना, निर्यात वृद्धि र अर्थतन्त्रको विकासमा समेत योगदान पुग्नेछ।
नेपाली उद्योग तथा व्यवसायको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली ब्रान्डको पहिचानलाई प्राथमिकतामा राखेर अनुसन्धानात्मक प्रतिवेदन तयार गरेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद तथा बधाई दिए। प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना पहिचान गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने उनको विश्वास थियो। उनले ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अध्ययन नीति निर्माण तथा व्यावसायिक रणनीति तय गर्न उपयोगी हुने बताउँदै तथ्यमा आधारित अनुसन्धान र बहसले निजी क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने उल्लेख गरे । नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र नभई विश्व बजारमा समेत गर्वका साथ स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै मल्होत्राले नेपाली ब्रान्डको सुदृढीकरणबाट उत्पादन, रोजगारी, निर्यात र समग्र अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने बताए।















प्रतिक्रिया दिनुहोस्