काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लालाई चौबिसै घण्टा खुला राख्ने तयारी अघि बढाएको छ। जिल्लाका सबै क्षेत्रलाई २४ सै घण्टा सञ्चालनयोग्य बनाउन आवश्यक सुरक्षा व्यवस्था, पूर्वाधार र सेवा सुविधाको सुनिश्चितताका लागि प्रशासनले रणनीतिक तयारी थालेको हो।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै संघीय राजधानी काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयअनुसार खुला रहेको जनाएको छ। अब भने ती क्षेत्रको दायरालाई विस्तार गर्दै जिल्लाका सम्पूर्ण बजार तथा व्यापारिक क्षेत्रलाई रातिसमेत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने प्रशासनको तयारी छ। यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था आवश्यक रहेको प्रशासनले जनाएको छ। रातिको समयमा पनि सर्वसाधारणको आवागमन सहज र सुरक्षित बनाउन यातायात, स्वास्थ्य सेवा, वस्तु तथा सेवाको आपूर्ति र सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई समेत चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न सरकारी विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छलफल तथा समन्वय गरिने प्रशासनले जनाएको छ। यसका लागि सम्बन्धित सरोकारवालाको सहभागितामा छिट्टै बैठक आयोजना गर्ने तयारीसमेत गरिएको छ । प्रशासनका अनुसार आवश्यक पूर्वाधार, सेवा सुविधा र सुरक्षा व्यवस्थाको सुनिश्चिततासहित बृहत् तयारी पूरा भएपछि मात्रै जिल्लाका सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय लिइनेछ ।
यद्यपि, तत्कालै काठमाडौंका सबै बजार रातभर सञ्चालन गर्न पाइने भने होइन। दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले अर्को सूचना जारी नभएसम्म हाल कायम रहेको समयसीमाअनुसार नै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ । काठमाडौंलाई चौबिसै घण्टा चलायमान बनाउने योजनाले व्यापार, पर्यटन, यातायात र सेवा क्षेत्रको गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, यसको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा, सार्वजनिक यातायात र अत्यावश्यक सेवाको निरन्तर उपलब्धता प्रमुख चुनौतीका रूपमा रहनसक्छन् ।















प्रतिक्रिया दिनुहोस्