काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति (गभर्निङ काउन्सिल) चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा मनीष श्रेष्ठ इमिडिएट पास्ट प्रेसिडेन्ट, चिराग सारावगी लर्निङ चेयर, शाइनी खेतान सदस्यता तथा एकीकरण संयोजक, निदा दून मल्ल स्टार्टअप, उद्यमशीलता तथा नवप्रवर्तन संयोजक, सुजीत रेग्मी सरकार तथा कूटनीतिक सम्बन्ध संयोजक, पुनित अग्रवाल सञ्चार तथा विस्तार संयोजक, यश अग्रवाल रणनीतिक साझेदारी तथा सञ्चार संयोजक र अंकुर अग्रवाल वित्त तथा अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक चयन भएका छन्। त्यस्तै, न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधान क्रमशः सदस्यता तथा एकीकरण, स्टार्टअप तथा उद्यमशीलता र सरकार तथा कूटनीतिक सम्बन्धका सहसंयोजक रहनेछन्।
शुक्रबार सम्पन्न साधारण सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले गरेका थिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.मल्लले युवा उद्यमशीलता विकासका लागि सरकारले उद्यम विकास कोषअन्तर्गत ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनले युवा उद्यमीको क्षमता विकास र नवप्रवर्तन प्रवर्द्धनका लागि सीएनआईवाइईएफसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए। उनले नेपाल उद्योग परिसंघ र सीएनआईवाइईएफले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
सीएनआईवाइईएफका अध्यक्ष मनीष श्रेष्ठले स्वागत मन्तव्य दिँदै युवा उद्यमीहरूको सशक्तीकरणका लागि मञ्चले गर्दै आएका गतिविधिबारे जानकारी गराए। स्टार्टअप चेयर चिराग सारावगीले मञ्चका विगतका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। सभामा सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी व्यवसायी तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मानसमेत गरिएको थियो। सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’ र नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गरेका सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको जनाइएको छ।
यस्तै, सीएनआईवाइईएफ लुम्बिनी च्याप्टरलाई सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रम सञ्चालनका लागि ‘च्याप्टर ग्रोथ अवार्ड’ र सीएनआईवाइईएफ कोशी च्याप्टरलाई उत्कृष्ट कार्यसम्पादनका लागि ‘च्याप्टर एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो। कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले युवा नेतृत्व र उद्यमशीलता प्रवर्द्धनले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले युवा उद्यमीलाई प्रोत्साहन र अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष मनीष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।















प्रतिक्रिया दिनुहोस्