काठमाडौं। रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।
शुक्रबार सो स्थानमा परिचालित खोजी तथा उद्धार टोलीले भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई बाहिर निकालेको उर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। तर, प्रतिकूल मौसम र सडक सम्पर्क विच्छेदका बीच उद्धार टोली परिचालन गर्न कठिनाई भैरहेको जनाइएको छ।
यसैबीच, बाढीका कारण प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको पनि उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको मन्त्रालयले जनाएको छ। आयोजनाको सुरुङभित्र करिब ४५ जना कर्मचारी तथा कामदार फसेको अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको छ। टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ परिचालन गरिएको हो।
६० मेगावाट क्षमताको उक्त निर्माणाधिन अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केबल टनेल पुरिएको मुख खोल्न दक्ष जनशक्ति सहित नेपाली सेना खटिएको छ। केबल टनेलमा प्वाल बनाएर भित्र फसेका नागरिकलाई अक्सिजन पुर्याउने कार्यमा उद्धार टोली लागेको हो ।















प्रतिक्रिया दिनुहोस्